‘आर्क ब्रिज’ क्षेत्रको यातायात सहज बनाउने योजनमा प्राधिकरण

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबिखोला करिडोर अन्तर्गत बिजुली बजार स्थित ‘आर्क ब्रिज’ क्षेत्रको यातायात सहज बनाउन सडक विस्तारको योजना अघि बढाएको छ। हाल बानेश्वरतर्फ मात्र सवारी पास हुने गरी एकतर्फी बाटो सञ्चालनमा रहेकाले आगामी दिनमा बबरमहलतर्फबाट पनि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गर्न लागिएको हो।

प्राधिकरणकी विकास आयुक्त जानुका ढकालका अनुसार, बबरमहलतर्फबाट पनि बाटो सञ्चालनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। हाल एकतर्फी बाटो सञ्चालन हुँदा कार्यालय समयमा सवारी चाप अत्यधिक बढेको र जामको समस्या निम्तिएको हुँदा दुईतर्फी मार्ग सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको उनले बताइन्।

यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारसँग बजेट माग्ने योजना बनाएको छ। ढकालका अनुसार, करिडोरको निर्माणपछि सवारी आवागमन केही सहज भए तापनि आर्क ब्रिज मुनि एकतर्फी मात्र सवारी सञ्चालन हुँदा जामको समस्या बढिरहेको छ। यदि दुवै तर्फबाट सवारी सञ्चालन गर्न सकिएमा जाम न्यूनिकरण गर्न सकिने अनुमान गरिएको छ।

यद्यपि, बबरमहलतर्फको सडक विस्तार प्राधिकरणका लागि चुनौतीपूर्ण रहेको छ। हालसम्म प्राधिकरणले पुल निर्माणसम्बन्धी कुनै कार्य नगरेकोले दक्ष जनशक्तिको अभाव देखिएको छ। साथै, आर्क ब्रिज मुनिबाट सडक विस्तार गर्दा पुलको संरचनामा असर पर्ने सम्भावना रहेकोले प्राधिकरण यस विषयमा सचेत रहेको छ।

सडक विस्तार कार्य अघि बढाउन प्राधिकरणले सडक विभागसँग सहकार्य गर्ने योजना बनाएको छ। पुल मुनिबाट सवारी सञ्चालन गर्ने कि पुलको छेउमा अन्डरपास निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। करिडोरको व्यवस्थापन प्राधिकरणको क्षेत्राधिकारभित्र पर्ने भए तापनि पुल र माथिल्लो सडक सडक विभागको मातहतमा भएकाले सहकार्य आवश्यक पर्ने देखिएको छ।

यस सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थले पनि प्राधिकरणलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। उनका अनुसार, विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन सरकारी निकायहरूबीच समन्वय आवश्यक रहेको छ।

काठमाडौं उपत्यकामा यातायात व्यवस्थापनलाई सहज बनाउने लक्ष्यका साथ अघि बढाइएको यस योजना सफल भएमा धोबिखोला करिडोरमा हुने ट्राफिक जाम न्यूनिकरण हुने अपेक्षा गरिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार