भारतको उडिसामा नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालिएको घटनाः राजदूतावासको पहलपछि समाधान

काठमाडौं । भारतको उडिसा राज्यस्थित Kalinga Institute of Industrial Technology (KIIT) मा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालिएको घटनापछि नेपाली राजदूतावासले सम्बन्धित शैक्षिक संस्थासँग छलफल गरेको छ।

छलफलका क्रममा राजदूतावासले नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई पुनः छात्रावासमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो। साथै, विद्यार्थीहरूको नियमित पठनपाठन अवरुद्ध हुन नदिन कक्षा सञ्चालनको प्रबन्ध मिलाउन समेत अनुरोध गरिएको थियो। नेपाली राजदूतावासको पहलपछि संस्थाले नेपाली विद्यार्थीहरूलाई पुनः छात्रावासमा बस्न दिने तथा कक्षा सञ्चालनको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ।

यसैबीच, KIIT मा अध्ययनरत नेपाली विद्यार्थी स्वर्गीय प्रकृति लम्सालको मृत्युको घटनाप्रति राजदूतावासले गहिरो दुःख व्यक्त गर्दै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ। शैक्षिक संस्थाले घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक अनुसन्धान गरिने जनाएको छ। नेपाली राजदूतावासले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

यस घटनाका सम्बन्धमा राजदूतावासले भारतको केन्द्र सरकार, उडिसा राज्य सरकार तथा अन्य सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्क राखिरहेको छ। साथै, प्रभावित नेपाली विद्यार्थी तथा अभिभावकलाई कुनै समस्या परेमा नेपाली राजदूतावाससँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार