काठमाडौं । २०८१ माघ २८ मा बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा विस्तार भएसँगै देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । राष्ट्र बैङ्कको पहलमा देशका सबै स्थानिय तहमा बाणिज्य बैङ्कको शाखा बिस्तार हुनु ग्रामिण तहका नागरिक बैङ्किङ प्रणालीमा जोडिनुलाई देशमा वित्तीय पहुँच अभिवृद्धि गर्दै सुदृढ, समावेशी र दिगो बैंकिङ प्रणाली निर्माण हुने केन्द्रीय बैङ्कले जनाएको छ ।
२०८१ पुस मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकहरूको शाखा संख्या ५,०७८ र विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थासमेत गरी बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११,५४५ पुगेको छ । यसका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाले औसतमा २,५२६ जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ । नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूमार्फत बचत र कर्जाको कारोबारका साथै डिजिटल बैंकिङ जस्ता आधुनिक उपकरणमार्फत बैंकिङ सेवा प्रवाह भइरहेको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित बैंकिङ कारोबार गर्न नागरिकलाई अपिल गरेको छ ।