काठमाडौं । कवि सीमा आभासले कविहरुको सिर्जनासँग प्राण गाँसेको हुने भन्दै त्यसको अवमूल्यन नगर्न सबैमा आग्रह गरेकी छिन् । नेपाली कवि तथा साहित्यकि क्षेत्रलाई विदेश सहयोगमार्फत् सञ्चालन भएको आरोप लागे सँगै उनले साहित्यकि क्षेत्रका सिर्जनामा सिर्जनाकारहरुको प्राण गाँसिएको हुने भन्दै त्यसको अवमूल्यन नगर्न सबैमा आग्रह गरेकी हुन् ।
पछिल्लो समयमा अमेरिकी सहयोग नियोग (युएसएड) को अनुदानमा नेपाली कविता, कथा लगायतका साहित्य क्षेत्र सञ्चालन भएको बिना प्रमाण आरोप तथा हल्ला फिजाए सँगै कवि आभासले सो कार्य नगर्न आग्रह गरेकी हुन् । उनले आफनो फेसबूकपेजमा हिजोदेखि हामी केही लेखकहरूको नाम, फोटो राखेर एउटा ब्यानर भाइरल भइरहेको छ । त्यो ब्यानर भाइरल गराउने मध्य अधिकांशले गाली, गलौज गरेर कमेन्ट गरेका भन्दै त्यसमा कुनै सत्यता नभएको बताएकी छिन् । र बिना प्रमाण यस्तो मन्तव्य नराख्न चेतवानी समेत दिएकी छिन् ।
आभासले फेसबूक पेजमा लेखिकी छन्, ‘स्वत्वको लागि लडाइ गर्ने छ मेरो कलमले । समाजका कुरीति, अपराध, अन्धविश्वास, अराजकता, विभेद, अन्यायको बिरूद्ध कलम चलाउन डराउने छैन । स्वतन्त्रता, समानता, समता, समुन्नति, सद्भाव, जस्ता बिषयको पक्षमा सचेत भएर उभिने नै छु ।
विनम्रपूर्वक गालीवाजहरूलाई अनुरोध गर्दछु पहिला हाम्रा कृतिहरू पढ्नुहोस् । हामीले गलत केके गरेका छौँ तिनका प्रमाण सार्वजनिक गर्नुहोस् । चिन्दै नचिनी, जान्दै नजानी गाली गलौज गर्नु मान्छेको व्यावहारभित्र पर्दैन । अलिकति मान्छे बनी हेर्नुहोस् । पढालेखा हुनुहुन्छ भने अलिकति पढालेखाको चरित्र देखाउनुहोस् । साहित्य साधक ठान्नुहुन्छ भनेँ पहिला आफूले लेखेका शब्द आफैँलाई प्रयोग गरि हेर्नुहोस् , चरित्र निर्माण गर्नुहोस् । ’
उनले सो आरोपको विषयमा कृष्ण धरावासीले फेसबुक लाइभमा आएर प्रष्ट पारेको समेत बताईन् । ‘
हाम्रो बारेमा कृष्ण धरावासीले फेसबुक लाइभमा धेरै कुरा स्पष्ट पारिसक्नु भएको छ । तपाइहरुले त्यो भिडियो हेर्न सक्नुहुन्छ । हामीलाई गाली गर्नुअघि आफैसँग प्रश्न गर्नुहोस् । तपाईहरू मध्ये कस–कसले हाम्रा कृति पढ्नु भो र यसरी गालीमा उत्रनुहुन्छ ? यो कानुनी राज्य हो । कानुनविपरित कुनै पनि क्रियाकलाप हामीबाट भएको छ भने प्रमाणसहित आउनुहोस् । नत्र खुलम्म खुल्ला हामीलाई मानमर्दन गरेको मूल्य कसरी चुकाउनुहुन्छ ? हामीलाई बिनाप्रमाणका गालीगलौज गर्ने तपाईं स्वयं कस्तो हो ? आफैँलाई प्रश्न गर्नुहोस् ,’ उनले भनेकी छिन् ।
एउटा जिम्मेवार लेखकले आफूले लेखेका सिर्जनासँग प्राण गाँसेको हुने बताउँदै उनले भनिन् लेखकको कृति उसको जीवनको महत्वपूर्ण हिस्सा हो , अक्षरअक्षरसँग जवाफदेही र उत्तरदायि भएको हुन्छ । लेखकले कृति लुकाएर राखेको हुँदैन । सकेसम्म बढी मान्छेले पढुन्, बढीले जानुनु भन्ने ठाने अपेक्षा राख्ने गरेको बताईन् ।
लेखकले गलत लेख्यो भनेँ चिरकालसम्म त्यसको असरपर्छ भनेर जानेको बताउँदै कवि आभासले कतिकति हरफहरु त मुटुले लेखेको हुन्छ । देश, समाज, धर्म, कला, संस्कृति, आचरण लेखेको हुन्छ । यसभित्रका विकृतिलाई प्रहार गरेको हुन्छ । नविन दृष्टिकोण दिएको हुन्छ । एउटा स्वाभिमानी लेखकलाई कसैका स्वार्थको गान वा भक्ति र भजन लेख्न उसका अहमले दिँदैन । कसैले निर्दिष्ट गरेको सिद्धान्त वा कसैको इच्छामुताविक चल्न नसक्ने भएरै लेखक निर्भिक बन्ने समेत बताईन् ।
मुलुकको भाषा, धर्म, संस्कृति, परम्पराको चिन्ता सबैलाई भएजस्तै लेखकलाई पनि हुने दाबी गर्दै कवि आभासले भनिन्, ‘स्वाभिमानी अक्षरमा बाँचेको लेखकमाथि लाञ्छना लगाउनु अघि जसजसलाई आरोप लगाउनु भयो । जसजसले तिघ्रा ठटाउनु भयो एकपटक हाम्रा कृतिहरु पढ्नुहोस् । जे पायो त्यहि बोल्दै नहिँड्नुहोस् । यो समाजमा तपाइका सन्तानले तपाइका कुरा सिक्नेछन् । उनीहरुलाई असल कुरा सिकाउन असल कुरा बोल्नुहोस् । तपाइका विद्यावारिधी (पिएचडी) हरुको बेइजत नगर्नुहोस् ।’
उनले गलत आरोपको पछि नलाग्नको लागि सहयोग गर्नेहरुलाई कृतज्ञता व्यक्त गरेकी छिन् । ‘नडराउ भनेर ढाडस दिने, फोन, म्यासेन्जर मार्फत चिन्ता व्यक्त गर्ने शुभचिन्तक, साथी, लेखक, आफन्त र साहित्यको माया गर्ने तपाइहरू सबैप्रति आभारी छु, तपाइहरूको सदासयताले आँखाभरि टिलपिल छु,’ उनले भनेकी छिन् ।
पछिल्लो समय सामाजिक सञ्जाल मार्फत् विभिन्न व्यक्ति तथा समूहहरुले विदेशी सहयोगमा नेपाली साहित्य क्षेत्र सञ्चालन भएको बिना प्रमाण आरोप लगाउनुको साथै हल्ला फिजाएको पाइन्छ । यो सँगै नेपाली साहित्य क्षेत्रका व्यक्तिहरु रुष्ट बनेका छन् ।