काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । आफूहरू केबलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयले केबलकार निर्माण गर्न पाथीभरा देवी केबलकार कम्पनीलाई आग्रह गरेका हुन् ।
उनीहरू लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा सहभागी भएका हुन् । ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न गरी कार्य नगर्न समेत उनीहरूले आग्रह गरेका छन् ।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति थियो । पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिक महत्व र पहिचान गुम्ने दाबी गर्दै केही व्यक्तिहरुले विरोध गरिरहेका छन् ।
केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत गर्ने काम समेत सम्पन्न भइसकेको छ । केबलकार निर्माणको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माण सुरु भएको थियो । -रासस