७ महिनामा ८ अर्ब ५३ करोड लाभांश वितरण

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालको उद्योग तथा व्यवसाय क्षेत्रबाट लगानी प्रतिफलस्वरुप साढे ८ अर्ब रुपैयाँ लाभांश लगेका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ५३ करोड ७० लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका उद्योग विभागले जानकारी दिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ अर्ब १२ करोड ६४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्ष माघसम्म १ अर्ब ४१ करोड ६ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका थिए ।

विभागका निर्देशक एवं सूचना अधिकारी अर्जुन सेन ओलीका अनुसार विदेशी लगानीकर्ताले लगानी प्रतिफलस्वरूप उक्त लाभांश रकम लगेका हुन् । विदेशी लगानीकर्ताले नेपालको उद्योग तथा व्यवसायमा लगानी गर्छन् त्यसको प्रतिफलस्वरुप लाखौं तथा करोडौं लाभांश लैजाने गरेको उनको भनाई छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा सबैभन्दा बढी माघमा र सबैभन्दा कम कात्तिकमा लाभांश वितरण गरिएको छ । माघमा ६ अर्ब ९२ करोड ९ लाख रुपैयाँ लाभांश वितरण गर्दा कात्तिकमा ३० लाख रुपैयाँ लाभांश वितरण गरिएको हो । साथै साउनमा ६ करोड ४० लाख रुपैयाँ, भदौमा ४ करोड ७६ लाख रुपैयाँ, असोजमा ३ करोड ७ लाख रुपैयाँ, मंसिरमा ७ करोड ८७ लाख रुपैयाँ र पुसमा १ अर्ब ५५ करोड २० लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । विभागले असोजमा ३० लाख ४० हजार लाभांश वितरण गर्दा साउनदेखि असोजसम्म भने ६ करोड ७० लाख, साउनदेखि कात्तिकसम्म ६ करोड ४० लाख, साउनदेखि मंसिरसम्म ८५ करोड १७ लाख र साउनदेखि पुससम्म १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गरेको छ । त्यस्तै विभागले आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब ७६ करोड ९३ लाख र गत आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड ४५ लाख लाभांश वितरण गरेको थियो ।

त्यस्तै सरकारले विदेशी लगानी आएपश्चात् रोयल्टी समेत प्राप्त गर्नेगरेको पाइन्छ । विभागलाई चालू आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ७१ करोड ९२ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ३८ करोड ७० लाख रुपैयाँ कम रोयल्टी हो । गत आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ३३ करोड २२ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको थियो । चालू आर्थिक वर्षको पुसमा मात्र २२ करोड ६१ लाख रोयल्टी प्राप्त हुँदा माघमा भने ११ करोड ८ लाख रुपैयाँ प्राप्त भएको छ ।

विदेशी लगानीकर्ताहरूले साना, मझौला र ठूला उद्योगहरूमा लगानी गरेबापत लाभांश लगेका हुन् । लाभांश विदेशी लगानीकर्ताले नेपालबाट लगेका हुन् । उनीहरूले लगानी प्रस्ताव विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङ्कन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्याङ्कन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्यान्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । यता लगानी प्रतिबद्धता जनाउनेमा भने चीन, भारत, हङकङ, अमेरिका, बेलायतलगायतका दर्जनबढी मुलुक रहेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार