काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक नेपाल पे टाइम प्रालिको लाइसेन्स खारेज गरेको छ । संस्थाले प्रदान गर्दै आइरहेको सेवा लामो समयदेखि बन्द रहेकाले लाइसेन्स खारेज गरिएको राष्ट्र बैंक शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ ।
साथै सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा उपलब्ध छैन । संस्थाको संस्थागत सुशासनको अवस्था कमजोर रहेको र राष्ट्र बैंकको निर्देशनहरुको कार्यान्वयनका लागि प्रतिवद्धताअनुसार कार्य अघि नबढाएकाले लाइसेन्स खारेज गर्नु पर्ने अवस्था आएको राष्ट्र बैंकले जनाएको छ ।
भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३(४) अनुसार नवीकरण नगरिएको हो ।
संस्थाले जारी गरेको भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुले संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।