सम्पत्ति शुद्धीकरणमा कानुन कार्यान्वयन तथा अनुसन्धान पक्ष कमजोर हुँदा नेपाल ग्रे लिस्टमा पर्यो

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता सङ्गठन वित्तीय कारबाही कार्यदल वा फाइनान्शल एक्शन टास्कफोर्स (एफएटीएफ)को ग्रे लिस्टमा नेपाल परेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कमजोर भएसँगै नेपाल ग्रे लिस्टमा परेको हो ।

एफएटीएफको एशिया प्यासिफिक ग्रुप (एपीजी)ले औल्याएका कमजोरी सुधार गर्न नसक्दा नेपाल ग्रे लिस्टमा परेको छ ।

एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुपको बैठक फेब्रअरी १७ देखि २१ सम्म फ्रान्सको राजधानी पेरिसमा भएको थियो । उक्त बैठकले नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो ।
यस अघि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कमजोर देखिएको भन्दै नेपाल एपीजीको सुक्ष्म निगरानीमा थियो ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नेपालको अवस्था बुझ्न २०७९ फागुन १ देखि ४ गतेसम्म एफएटीएफ र एपीजीको टोलीले स्थलगत अध्ययन गरेको थियो । उक्त अध्ययनका आधारमा २०८० भदौ २३ गते एपीजीले नेपालको पारस्परिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिसकेको छ । उक्त प्रतिवेदनले जोखिम तथा साधारण अवस्थासम्बन्धी बुँदामा भ्रष्टाचार, राजस्व छली र मानव बेचबिखनलाई नेपालमा सम्पत्ति शुद्धीकरण नियन्त्रणको प्रमुख चुनौती भनेर औँल्याइएको छ ।

प्रतिवेदनअनुसार नेपाललगायत राष्ट्रले पालना गर्नुपर्ने मापदण्डलाई कानुन कार्यान्वयन तथा अनुसन्धान पक्ष (इफेक्टिभ रेटिङ) र कानुन निर्माण तथा संस्थागत पक्ष (टेक्निकल कम्प्लायन्स रेटिङ) गरी दुई भागमा विभाजन गरिएको छ । यस अनुसार ‘इफेक्टिभ रेटिङ’ का ११ र ‘टेक्निकल कम्प्लायन्स रेटिङ’ का ४० वटा मापदण्ड छन् । सदस्य राष्ट्रले एफएटीएफका मापदण्ड पालना गर्नुपर्ने छ भने नेपाल विसं २०५९ को सदस्य भएको थियो ।

एपीजीले नेपालको ‘इफेक्टिभ रेटिङ’ का ११ सूचकहरू मध्ये ७ ‘लो’ (न्यून) र ४ ‘मोडरेट’ (आंशिक) प्रभावकारी भनेर पारस्परिक मूल्यांकन प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तै प्राविधिक अनुपालनका ४० सूचकमध्ये १६ पार्सियल्ली कम्प्लायन्स (आंशिक पालना), १६ हाइली कम्प्लायन्स (पालना), ५ कम्प्लायन्स (पूर्ण पालना) र ३ नन कम्प्लायन्स (पालना नभएको) प्रतिवेदनमा उल्लेख छ ।

पारस्परिक मूल्यांकन प्रतिवेदनका आधारमा सम्पत्ति शुद्धीकरण निवारण मामिलासम्बन्धी कानुन निर्माण भए पनि कार्यान्वयन पक्षमा थप सुधार आवश्यक थियो ।

सम्पत्ति शुद्धीकरण निवारण मामिला एफएटीएफका सिफारिसहरू कार्यान्वयनको अवस्थाका सम्बन्धमा रिपोर्टिङ गर्न गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा १३ सदस्सीय टोली जनवरीमा फिलिपिन्स गएको थियो । फिलिपिन्समा गर्भर अधिकारी नेतृत्वको टोलीले पेस गरेको रिपोर्ट र नेपालको अवस्थाका आधारमा पेरिसमा समीक्षा भएको थियो । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका सम्बन्धमा एफएटीएफले औंल्याएको कानुन कार्यान्वयन तथा अनुसन्धान पक्षमा सुधार नहुँदा ग्रे लिस्टमा राखिएको हो ।

यस पटकको प्लेनरीले नेपाल सहित लाओस पनि ग्रे लिस्टमा परेको छ । फिलिपिनस भने ग्रे लिस्टबाट बाहिरिएको छ ।

एफएटीएफको कालोसूचीमा रहेका देशहरु
उत्तर कोरिया
इरान
म्यानमार

एफएटीएफको ग्रे लिस्टमा रहेका देशहरु
अल्जेरिया
एंगोला
बुल्गेरिया
बुर्किनाफासो
क्यामरून
आइभेरी कोस्ट
क्रोएसिया
कंगो
हाइटी
केन्या
लेबनान
माली
मोनाको
माजाम्बिक
नामिबिया
नाइजेरिया
नेपाल
दक्षिण अफ्रिका
साउथ सुडान
सिरिया
तान्जानिया
भेनेजुयला
भियतनाम
यमन

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार