नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान, योग्यता के के हुनुपर्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार एक सूचना सार्वजनिक गर्दैै नेप्सेले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १८ भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

आवश्यक योग्यता तथा अनुभव
क) धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम १६क. बमोजिम देहायको योग्यता भएको:-
(अ) अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको, “यस नियमको प्रयोजनको लागि उच्च व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सो को दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्ति सम्झनुपर्दछ ।”
(आ) नेपालको नागरिक भएको ।
(ख) धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम १७ बमोजिम अयोग्य नभएको,
(ग) अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ (ग) बमोजिम तीस वर्ष उमेर पूरा भई पैसट्ठी वर्ष उमेर ननाघेको,
(घ) अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन (सहित) ले तोके बमोजिम देहायको अयोग्यता नरहेको:-
(अ) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको,
(आ) प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, (इ) कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको,
(ई) मानसिक सन्तुलन ठीक नभएको ।

आवेदन पेश गर्ने प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजातः
(अ) आवेदनसाथ अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np मा प्रकाशित “नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०७१ को दफा ३ बमोजिमको कागजात तथा विवरणहरू आवेदक स्वयम्ले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न राखी पेश गर्नु पर्नेछ । (आ) आवेदनसाथ “नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ४ बमोजिमको व्यावसायिक कार्ययोजना चार प्रति खामबन्दी गरी पेश गर्नु पर्नेछ । खामबन्दी प्रस्तावको खामबाहिर आवेदकको नाम र “नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन तथा व्यावसायिक कार्ययोजना” उल्लेख गरी दस्तखत गरेको हुनु पर्नेछ ।

दस्तुर
आवेदन दस्तुर बापत अर्थ मन्त्रालयको कार्यालय कोड नं. ३०५००३५०१, राजस्व खाताः १०००१००२०००१०००० तथा राजस्व शीर्षकः १४२२४ मा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सिंहदरबार शाखामा रु. ७,५००।०० (अक्षेरुपी सात हजार पाँच सय रुपैयाँ मात्र) बुझाएको सक्कलै भौचर पेश गर्नु पर्नेछ ।

 पारिश्रमिक
प्रमुख कार्यकारी अधिकृतले पाउने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले तोके बमोजिम हुनेछ ।

अन्य विवरण
(अ) आवेदन तथा सिफारिस प्रक्रिया सम्बन्धी विस्तृत विवरण अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np मा प्रकाशित “नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१” मा उपलब्ध रहेको छ ।
(आ) यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ । (इ) कुनै आवेदकले झुट्टा विवरण वा कागजात पेश गरेमा त्यस्तो आवेदन रद्द हुनुका साथै प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
यस सम्बन्धी थप जानकारीका लागि अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार वा टेलिफोन नं. ४२११२६८ मा सम्पर्क गर्न सकिनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार