काठमाडौँ । नेपाल बीमा प्राधिकरणले नगद र नगदजन्य कारोबारको बिमा गर्न छुट्टै निर्देशिका जारी गरेको छ ।
बैंकका कर्मचारीहरूले काउन्टर र अन्य स्थानहरूमा नगद, नगदजन्य सामग्री, सुरक्षण तथा धितोमा चोरी, अपचलन, वा जालसाजी गरेमा बीमा कम्पनीले क्षतिपूर्ति दिनुपर्ने व्यवस्थासहित ‘मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन, २०८१’ नयाँ निर्देशिका जारी गरिएको हो ।
बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रक्रियामा रहेको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी) तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएका नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी) मा आइपर्ने जोखिमसँगको रक्षावरण गर्न बीमा सम्बन्धी व्यवस्थाहरूलाई व्यवस्थित गर्न आवश्यक भएकोले यस्तो निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ ।
यसले बैंक कर्मचारीको बेइमानी वा आपराधिक गतिविधिबाट भएको नगद, नगदजन्य उपकरण र सुरक्षणको हानि नोक्सानीलाई पनि कभर गर्नुका साथै नक्कली चेकबाट हुने जोखिम र धितो बन्धकमा रहेका सामानहरूमा कर्मचारीद्वारा हुने जालसाजीका घटनाहरूलाई पनि क्षतिपूर्ति प्रदान गर्ने निर्देशिकामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थासँगै नगद कारोबार गर्ने सहकारी, सुन पसल लगायत विभिन्न व्यवसाय यसले समेट्नेछ ।
निर्देशिकाले बीमादरसम्बन्धी व्यवस्था पनि गरेको छ ।
बैंकको बीमालेखको बीमादर आधारभूत बीमा रकमको बीमाशुल्क (बैंकको बीमालेखको रक्षावरण अनुसार एकमुष्ठ २.७५ प्रतिशत, अतिरिक्त बीमा रकमको बीमाशुल्क १ प्रतिशत प्रति रक्षावारण, निष्ठा जमानी वापतको बीमाशुल्क १० प्रति कर्मचारी, हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकवाद सम्बन्धी जोखिम समूहको बीमाशुल्क ०.६५ प्रतिशत र सामान्य सम्पत्ति बीमा बमोजिमका जोखिम थप गरेमा बीमाशुल्क ०.१५ प्रतिशत कायम गरिएको छ ।
यस्तै नगद बीमालेखको बीमादर तलका अनुसार हुनेछ । काउन्टरमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षण बीमाशुल्क प्रति हजार २ रुपैयाँ, सेफ/भल्टमा
राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षण बीमाशुल्क प्रति हजार २ रुपैयाँ, बीमा अवधिभर एक पटकमा गरिने अधिकतम मागमा नगद तथा नगदजन्य उपकरण र सुरक्षण रकम बीमाशुल्क १.५ प्रतिशत, नगद बाहेकका अन्य नगदजन्य उपकरण बीमाशुल्क प्रतिहजार २ रुपैयाँ, थप बीमाशुल्क नलिने बीमितको परिसरमा रहेको नगद तथा नगदजन्य उपकरण चोरी, साधमार, डकैती वा तोडफोड भएमा०स् यदि कामदारको व्यक्तिगत नगदको हानी नोक्सानी भएमा १० हजार रुपैयाँ बीमादर व्यवस्था गरेको छ ।
निष्ठा जमानी बीमादरस् जोखिममा रहेको बीमित रकमको बीमाशुल्क प्रति हजार ५ रुपैयाँ, बीमामा समावेश भएका कर्मचारीहरूको बीमाशुल्क प्रति कर्मचारी १०० रुपैयाँ निर्धारण गरिएको छ ।
बीमादरको आधारमा गणना गरिएको बीमाशुल्कमा कुनै प्रकारको छुट, कटौती वा सहुलियत दिइने छैन । तर, बीमालेखको असमर्थता भएका अवस्थामा हुलदंगा तथा आतंकवादको बीमाशुल्क बाहेक अन्य बीमाशुल्कमा समायोजन गर्न सकिने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार एक पटक बीमालेख जारी भएपछि बीमा अवधिभर बीमादर बढाउन वा घटाउन पाइने छैन।