पूर्व पत्रकार शरद ओझा बीमा प्राधिकरणकाे अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।  सोमबारको मन्त्रिपरिषद्काे बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेकाे हो ।

अध्यक्ष लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

त्यसअघि १२ आवेदकमध्ये चिरञ्जीवी चापागाईं र कमल प्रसाद रेग्मी पनि सर्टलिस्टमा परेका थिए । सर्टलिस्टमा परेका ५ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट ओझा, पुडासैनी र बसौला सिफारिस भएका हुन् । यीमध्ये ओझा  सरकारकाे राेजाईमा परे ।

ओझा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट छन् । नवनियुक्त अध्यक्ष ओझाको पुर्ख्यौली डडेल्धुरास्थित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरा नै हो, हाल भने ओझा कञ्चनपुरका स्थायी बासिन्दा हुन् ।

ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थाकीय तहमासमेत गरी १२ वर्षको कार्य अनुभव छ । ओझा विभिन्न क्याम्पसका अध्यापक हुन् भने नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संस्थाका लागि विज्ञका रूपमा काम गरिसकेका छन् ।

उनीसँग नीतिगत तथा कानुनी परामर्शदाताका रुपमा कार्य गरेको समेत अनुभव छ । पर्यटन नीति २०८१ निर्माणमा संलग्न ओझाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका छन् भने त्यसअघि पोखरा विश्वविद्यालय व्यवस्थापनमा स्नातक गरेका थिए ।

आर्थिक पत्रकारका रूपमा विभिन्न सञ्चारमाध्यममा कार्य गरेका ओझा क्लिकमाण्डुमा वरिष्ठ प्रबन्धक तथा विशेष संवाददाताका रुपमा कार्यरत थिए । त्यसअघि उनले हिमाल खबर पत्रिका, नेपाली टाइम्स, देश सञ्चार अनलाइन, प्रशासनिक मासिक लगातमा  काम गरेका थिए ।

ट्रिनिटी एक्जिम तथा वरुण बेभरेजमा समेत काम गरेका ओझा उपत्यकामा रहेका विभिन्न कलेजहरु एपेक्स, राजधानी, इम्पेरियल, सायम कलेजमा व्यावसायिक वातावरण, अन्तर्राष्ट्रिय बिजनेस तथा नवप्रबर्तन विषय अध्यापन गर्छन् । उनी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा पर्यटन नीति तथा योजना विषय अध्यापन गराउँछन् ।

कञ्चनपुरकाे  कृष्णपुर नगरपालिका वडा नम्बर ८ का ओझा ३३ वर्ष वर्षका भए । उनको वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन तथा अर्थतन्त्र विश्लेषणमा दख्खल रहेको छ

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार