काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर फागुन १३ गतेसम्म कायम शेयधरनीहरुले मात्र पाउने भएका छन् ।
कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजका अघिल्ला कारोबार दिन फागुन १४ गते महाशिवरात्रीको सार्वजनिक विदा परेकाले फागुन १३ गतेसम्म कायम शेयधरनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउने भएका हुन ।
कम्पनीलाई माघ २२ गते शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासनमा ल्याउन लागेको हो । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत असार ९ गते बोर्डमा आवेदन दर्ता गराएको थियो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बुक क्लोजको मिति तय भएपनि कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गरेको छैन ।