काठमाडौं । देशभरि देखिएको प्रतिकूल मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्। कमजोर ‘भिजिबिलिटी’का कारण विशेषगरी आन्तरिक उडानहरूमा असर परेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजुअल फ्लाइट रुल्स’ (भीएफआर) अनुसार केही उडानहरू सञ्चालन भए पनि काठमाडौं उपत्यकाबाहिरका अधिकांश विमानस्थलहरूमा बिहान उडान सम्भव हुन सकेन।
मौसम प्रतिकूलताका कारण परराष्ट्रमन्त्री आरजु राणा देउवा सवार जहाज कोलकातामा अवतरण गर्न बाध्य भएको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार दोहाबाट आएको कतार एयरवेजको जहाज कोलकाता डाइभर्ट गरिएको छ।
त्यस्तै, मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट गरिएको छ भने चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाज तिब्बतको ल्हासा पठाइएको छ।
हाल मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय उडान सुचारु गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। आन्तरिक उडानतर्फ जनकपुर, भैरहवा, र भद्रपुरका लागि काठमाडौंबाट विमान प्रस्थान गरेका छन्। नेपालगञ्ज, जनकपुर, र धनगढीबाट पनि काठमाडौंका लागि उडान भएका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम बदली भइरहेको छ। विशेषगरी तराईका केही स्थानहरूमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा हट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।