स्वरोजगार लघुवित्तको एफपिओ र एभरेष्ट बैंकको ऋणपत्र आइतबार बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी आइतबार फागुन १८ गते देखि शेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्दैछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। खरिदकर्ताले आवेदन दिँदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

एफपीओ निष्कासन छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गतेसम्म खुला रहने भनिएको छ। यद्यपि अहिलेको अवस्थामा लगानीकर्ताले आईपीओ तथा एफपीओमा देखाएको चासो र परिरहेको आवेदन समेतलाई हेर्दा फागुन २१ गतेभित्रै पर्याप्त आवेदन पर्ने निश्चित जस्तै छ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफट्वेय ‘मेरो शेयर’ अनलाईन प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

हाल यस कम्पनीको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ। फागुन १५ गते बिहीबार यस कम्पनीको प्रतिकित्ता शेयर मूल्य (एलटीपी) १ हजार २७ रुपैयाँमा कायम रहेको छ।

साथै  एभरेष्ट बैंक लिमिटेडले आइतबार फागुन १८ गते देखि १० वर्षे अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गर्दैछ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। सोमध्येबाट १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड हुनेछ। सर्वसाधारणमा बाँडफाँड हुने ऋणपत्रमध्येबाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।

यो ऋणपत्रमा आवेदन दिँदा घटीमा २५ कित्ताका लागि दिनुपर्नेछ भने बढीमा १२ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते हुनेछ। यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरेर भुक्तानी गरिनेछ।

ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस’ रेटिङ्ग दिएको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च सुरक्षित रहेको संकेत गर्दछ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफ्टवेय ‘मेरो शेयर’ अनलाईन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार