थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

काठमाडौं । काठमाडौँको थापाथलीस्थित मेलम्ची खानेपानीको पाइप पुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको छ। मंगलबार बिहान थापाथलीमा पाइप फुटेर पानी बाहिर निस्कँदा सडक जलमग्न हुनुका साथै आसपासका पसलभित्र पानी पसेको थियो।

यसअघि माघ ३० गते थापाथली नजिकै बबरमहलमा मेलम्ची खानेपानीकै पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो। यसपटक भने समस्या समाधान छिटो गरिएकाले पाँच लाखमात्र खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ।

थापाथलीमा पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए।

बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ। त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले जानकारी दिए। पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्सन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ।

थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ। त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए। यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ।

खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ। कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार