इन्टरनेट सेवा प्रदायकलाई बक्यौता तिर्न अन्तिम चेतावनी, नभए लाइसेन्स खारेज हुनेः सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बक्यौता नबुझाउने इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूको लाइसेन्स खारेज गर्ने चेतावनी दिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री गुरुङले बक्यौता असुलउपर सरकारको नीति तथा कार्यक्रमअनुसार अगाडि बढाइने स्पष्ट पारे। उनले प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीलाई बारम्बार फोन गरेर बक्यौताको विवरण माग्ने गरेको उल्लेख गर्दै अब अन्तिम चेतावनी दिनुपर्ने धारणा व्यक्त गरे।

‘एक महिनाभित्र बक्यौता तिरेन भने सेवा बन्द गरिन्छ,’ मन्त्री गुरुङले चेतावनी दिँदै भने, ‘अब चोरलाई सुली र साँधुलाई चौतारोको प्रवृत्ति अन्त्य हुनुपर्छ।’

उनले सञ्चार मन्त्रालयको पुँजीगत खर्च कमजोर रहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे। अघिल्लो आर्थिक वर्षमा नेपाल दूरसञ्चार प्राधिकरणको पुँजीगत खर्च न्यून रहेको स्मरण गराउँदै उनले सोही प्रवृत्ति दोहोरिन सक्ने संकेत देखिएको बताए।

‘अब फागुनको अन्त्यतिर आइपुग्यौं, पुँजीगत खर्च कहिले बढ्छ ? उनले प्रश्न गर्दै भने ।

गत वर्ष खर्च कमजोर भएकाले चालु आवमा ठूलो बजेट दिन नसकिएको उनले बताए ।

‘प्राधिकरणले १.५ प्रतिशत मात्र बजेट ल्याउन पाएको छ । चालु आवमा ३ अर्ब ३१ करोड माथिको बजेट ल्याउने योजना थियो । बजेट पास गर्न तीन/चार महिना लाग्यो,’ उनले भने ।

हाल करिब हाल ३ अर्ब रुपैयाँ सापटी बजेट ल्याइएकाले त्यसको उचित व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार