CLI

दुवै सदनको बैठक बस्दै, पाँच अध्यादेश राष्ट्रियसभामा निर्णयार्थ पेस हुने

काठमाडौं । बिहीबार संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । आजको प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ भने राष्ट्रिय सभामा ५ अध्यादेश निर्णयार्थ पेस हुनेछन् ।

यस्तै राष्ट्रिय सभा बैठकमा बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएका ५ अध्यादेश निर्णयार्थ पेस हुने सम्भावित कार्यसूची रहेको छ । बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ निर्णयार्थ पेस हुने सम्भावित कार्यसूची तय भएको राष्ट्रियसभा सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने र प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

Leave Your Comment

Related News