एमडीएमएस खरिद प्रकरण : झा र खनाललाई १३ महिना कैद, जनही ५ करोड बढी बिगो जरिवाना

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वय दिगम्बर झा र पुरुषाेत्तम खनाललाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर,  रित्तेन्द्र थापा र विदुर कोइरालाको इजलासले एमडीएमएस खरिद गर्दा २३ करोडभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै उनीहरुलाई दोषी ठहर गरेको हो ।

पूर्वअध्यक्षहरुसहित न्यूमेरा मलेसिया, ओएसआई कन्सल्टिङ प्रालिका प्रतिनिधि मोहम्मद नुर अमिन बिन मोहम्मद नुर खानलाई अदालतले दोषी ठहर गरेको छ । तीनै जनालाई अदालतले १ वर्ष कैद र जनही ५ करोड ८० लाख रुपैयाँ बिगो भराउने फैसला गरेको छ ।

संस्थाका प्रमुख भएको भएर पूर्वअध्यक्षद्वय झा र खनाललाई भने थप १ महिना सजाय हुने पनि फैसला अदालतले गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित २० जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो । प्रतिवादीहरुमध्ये १२ जनालाई अदालतलले सफाइ दिएको छ भने अन्य ५ जनामाथिको आरोपमा प्रमाण नपुग्ने ठहर गरेको छ ।

आनन्दराज खनाल, दीपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्त, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइरालालाई अदालतले सफाइ दिएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार