काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर आईपीओ जारी गरेको थियो ।
उक्त आइपीओ धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे बाँडफाँट गरिएको हो ।
आईपीओका लागि १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएकोमा १ लाख ८४ हजार ५०० जनाले १०–१० कित्ताका दरले शेयर हात पारेका छन् । बाँकी १७ लाख १७ हजार जनाको हात खालि भएको छ ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिएको थियो ।
दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।
आईपीओको नतिजा कम्पनीको वेबसाइट ‘एनआईएमबी एस क्यापिटल’ र मेरो शेयर अकाउन्टबाट हेर्न सकिन्छ ।

