काठमाडौं । सर्वोच्च अदालतले सतुङ्गलस्थित गोदाममा भएको आगलागी प्रकरणमा उद्योगी विनोद चौधरीको कम्पनी सिजी इलेक्ट्रोनिक्सले क्षतिभन्दा बढी बीमा दाबी लिएको ठहर गरेको छ। न्यायाधीश नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गर्दै सिजी इलेक्ट्रोनिक्सले २४ करोड रुपैयाँ कीर्ते दाबी गरेको निर्णयलाई सही ठहर गरेको हो।
२०६९ असोज ८ मा सिजी इलेक्ट्रोनिक्सको सतुङ्गलस्थित गोदाममा आगलागी भएको थियो। सो घटनापछि चौधरी ग्रुपले ५९ करोड रुपैयाँ अग्नि बीमा दाबी गरेको थियो । जसमध्ये ३९ करोड रुपैयाँ युनाइटेड इन्स्योरेन्स कम्पनीले भुक्तानी गरिसकेको थियो। चौधरी ग्रुपको युनाइटेड इन्स्योरेन्स कम्पनीमा २६ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रछ ।
उक्त बीमा दाबीमा अनियमितता भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि आयोगले २०७० जेठमा बीमा समितिलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। बीमा समितिले बाँकी दाबी भुक्तानी रोक्दै अध्ययन समिति गठन गर्यो, जसले क्षतिभन्दा २४ करोड बढी बीमा दाबी गरिएको निष्कर्ष निकालेको थियो।
समितिको प्रतिवेदनका आधारमा बीमा समितिले ३ करोड २१ लाख रुपैयाँ बढी भुक्तानी भइसकेको भन्दै ब्याजसहित ४ करोड रुपैयाँ फिर्ता लिने निर्णय गरेको थियो। तर, सिजी इलेक्ट्रोनिक्स र युनाइटेड इन्स्योरेन्सले सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। उच्च अदालतले पनि बीमा समितिको निर्णयलाई सदर गरेको थियो।
यस फैसलाविरुद्ध सिजी इलेक्ट्रोनिक्स र युनाइटेड इन्स्योरेन्स २०७४ चैतमा सर्वोच्च अदालत पुगेका थिए। लामो समयसम्म मुद्दाको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। अन्ततः सर्वोच्च अदालतले उच्च अदालतकै फैसलालाई सदर गर्दै बीमा अनियमितताको ठहर गरेको हो।