काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले फाल्गुण २५ गते आइतबार, अम्रपाली बैङ्क्वेट, काठमाण्डौंमा सभा सम्मन्न गरेको हो ।
उक्त सभाले लाभांश वितरण सहितका विभिन्न प्रस्तावहरु परित गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को संचित मुनाफाबाट चुक्ता पुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । उक्त सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । भवनको सम्पूर्ण कार्य करिब ६ महिना भित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी बर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको उनको भनाई छ ।
त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले कम्पनी अगाडि बढिरहेको जानकारी गराए । उनले कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति, नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत बीमा प्राधिकरणबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउंदै कम्पनीसंग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारमा विशेष ध्यान दिएको जानकारी दिए ।