काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये तनहुँका डा वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
स्वास्थ बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्तिको लागि सिफारिस समितिले प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सिफारिस समितिले गरेको सिफारिसको आधारमा उनी कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।
डा काफ्ले स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा सदस्य रहेका थिए । उनी सहितको कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो । डा काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ
डा काफ्ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । यस अघिका कार्यकारी निर्देशक दामोदर बसौला आप्नो कार्यकाल पुरा गरी बोर्डबाट बाहिरिएसँगै बोर्डको नेतृत्व रिक्त रहेको थियो ।