काठमाडौं । वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको भारित औसत ब्याजदरमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार माघ महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.५५ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको माघमा कर्जाको भारित औसत ब्याजदर ११.०८ प्रतिशत रहेको थियो ।
त्यस्तै, माघमा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.९० प्रतिशत र वित्त कम्पनीहरुको १०.८८ प्रतिशत रहेको छ । २०८० माघमा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत रहेको थियो । औसत आधार दर घटेकाले बैंकहरुको कर्जाको ब्याजदर निकै सस्तिएको हो ।
अहिले वाणिज्य बैंकहरुको औसत आधार दर घटेर ६.४६ प्रतिशतमा झरेको छ । २०८० असोजमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०६ प्रतिशत थियो । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्।
त्यस्तै , २०८१ माघमा विकास बैंकहरुको औसत आधार दर ८.५२ प्रतिशत र वित्त कम्पनीहरुको ९.३९ प्रतिशत रहेको छ । २०८० को माघमा विकास बैंकहरुको औसत आधार दर ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको थियो ।
२०८१ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.६२ प्रतिशत, विकास बैंकहरुको ५.४१ प्रतिशत र वित्त कम्पनीहरुको ६.४७ प्रतिशत रहेको छ । २०८० माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत कायम थियो ।
२०८० माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.३४ प्रतिशत रहेकोमा २०८१ माघमा २.८६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० माघमा ३.०४ प्रतिशत रहेकोमा २०८१ माघमा ३.०० प्रतिशत रहेको छ ।