काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन, दलित, सुकुम्वासीले छिट्टै प्रक्रिया पुरा गरेर लालपुर्जा वितरण गर्ने बताएका छन् । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी गराए ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय र दलित अधिकार तथा विकास केन्द्र नेपालले संयुक्तरुपमा आयोजना गरेको भूमिहिन सुकुम्बासी एवं बहुआयामिक गरिब दलित समुदायका लागि भूमि वितरण र गरीवी निवारणका सवाल: संवैधानिक अधिकारहरुको प्रश्न बिषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले राष्ट्रिय भूमि आयोगले देशभर भूमिहिन, दलित र सुकुम्वासीहरुलाई कानुनी प्रक्रिया पुरा गरेर बास्तविक भूमिहिनलाई जग्गा बितरण गर्ने प्रक्रिया अघि बढाएको स्पष्ट पारे । दलित समुदायले वषौंदेखि भोग्दै आएका भूमि क्षेत्रका समस्या र भूमिमा खोजिरहेको स्वामित्वबारे आफु जानकार रहेको मन्त्री अधिकारीको भनाई छ ।
उनले अहिले जारी भएको भूमि अध्यादेश दलित, भूमिहिनहरुको समस्या समाधानका लागि सहजिकरण गर्न ल्याइएको बताए । सोहि कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रभु हजारा पासवानले देशभरकै भूमिहिन दलितहरुको भूमि समस्या समाधानका लागि यो सरकारले परिणममुखी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भूमि क्षेत्रका दलित अधिकारीकर्मीको सहभागीता थियो ।