CLI

नाडा सदस्यहरू अब सामाजिक सुरक्षा योजनामा आबद्ध हुने, कोषसँग सम्झौता सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र सामाजिक सुरक्षा कोषबीच महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ। पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र कोषबी सम्झौता भएको हो ।

यस सम्झौताअनुसार नाडाले आफ्ना सदस्य संघसंस्था तथा प्रतिष्ठानहरूलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेछ। त्यस्तै, सामाजिक सुरक्षा कोषले नाडासँग सहकार्य गरी सामाजिक सुरक्षा योजनाबारे आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ।

समझदारीपत्रमा नाडाका अध्यक्ष करण चौधरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् । यस सहकार्यले नाडा र सामाजिक सुरक्षा कोषबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ। सम्झौता अनुसार, नाडाले प्रत्येक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट तथा भिसिटिएससम्बन्धी प्रशिक्षण कार्यक्रममा सामाजिक सुरक्षा कोषले प्रशिक्षक उपलब्ध गराउनेछ।

यस ऐतिहासिक सम्झौताले श्रमिकहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। हस्ताक्षर समारोहमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Leave Your Comment

Related News