CLI

चैतमा तीन बैंकको ब्याज बढ्दा दुईको घट्यो

काठमाडौं । चैत महिनामा लागि तीन वटा बैंकले निक्षेपको ब्याज बढाउँदा दुई वटाले घटाएको छ भने अन्य बाँकी बैंकको स्थिर रहेको छ । बाँकी बैंकहरुमध्ये अधिकांशले ब्याजदर स्थिर राखेका छन् ।

व्यक्तिगत मुद्दति निक्षेपमा फागुनकै अधिकतम ब्याजदरलाई चैतमा निरन्तरता दिनेमा वाणिज्य बैंकमा एनआईसी एसिया, एभरेष्ट, प्रभु, सानिमा, माछापुच्छ्रे र एनएमबी रहेका छन्।

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा ग्लोबल आइएमई, कुमारी र सिटिजन्स रहेका छन्। चैतमा ग्लोबल आइएमईले बढाएर ६ प्रतिशत, कुमारी ६.०१ प्रतिशत र सिटिजन्सले ५.८५ प्रतिशत कायम गरेका छन्। फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबलले ५.७५ प्रतिशत, कुमारीले ५.३१ प्रतिशत, सिटिजन्सले ५.५ प्रतिशत दिएका थिए।

यसैगरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउनेमा हिमालयन र नेपाल बैंक रहेका छन्। फागुनमा हिमालयन बैंकले ६.२५ प्रतिशत दिएकोमा चैतमा घटाएर ५.५ प्रतिशत कायम गरेको छ भने नेपाल बैंकले ५.६० प्रतिशतबाट घटाएर ५.५० प्रतिशत कायम गरेको छ।

उता राष्ट्रियस्तरका विकास बैंकले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन्।

बैंकहरुले चैतमा लागू हुने ब्याजदर आज फागुन २९ गते प्रकाशित गरेका छन्। प्रकाशित सूचनाअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले फागुनकै मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई चैतका लागि निरन्तरता दिएका हुन्।

राष्ट्रियस्तरका विकास बैंक मुक्तिनाथ, गरिमा, कामना सेवा, ज्योति, शाइन रेसुंगा, ज्योति, लुम्बिनी र सांग्रिलाले फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिएका थिए। चैतमा पनि सोही ब्याजदरलाई उनीहरुले निरन्तरता दिएका छन्।

Leave Your Comment

Related News