काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटीले पदबहाली गरेका छन् । आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।
डा बाराकोटी स्वास्थ्य मन्त्रालयको १२औँ तहमा अतिरिक्त सचिवमा कार्यरत थिए । यसअघि महानिर्देशकमा डा विकास देवकोटा थिए ।
उनी सचिवमा बढुवा भएपछि डा बाराकोटीलाई उक्त पदमा नियुक्त गरिएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत फागुन २७ गते मा मन्त्रिस्तरीय निर्णय गरी उनलाई महानिर्देशकमा नियुक्त गरेका थिए ।
पदभारपछि डा बाराकोटीले तीन तहमा बाँडिएको स्वास्थ्य संरचनामा विभागबाट हुनेसक्ने भूमिकामा सहजीकरण गर्दै जाने बताए । उनले भने, ‘खरिद प्रक्रियामा विभाग विवादित देखिएको छ त्यसलाई सुधार्ने प्रयास गर्छु ।’
आजै स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका डा रघुराज काफ्लेले पनि जिम्मेवारी सम्हालेका छन् ।
डा काफ्लेले स्वास्थ्य बीमालाई सरल, सुलभ र गुणस्तरीय बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थागत क्षमता वृद्धि गर्दै जाने बताए । यसअघि निमित्त कार्यकारी निर्देशक डा सरोज शर्मा थिए ।