काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७०० माथि रहँदा पनि शेयर बजारका अधिकांश सूचकहरु नकारात्मक रह्यो । यो साता कारोबार रकम र बजार पुँजीकरण रकम घट्दा लगानीकर्ताले आफनो लगानी गुमाउन पुगेका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता २७ अर्ब ४५ करोड ७८ लाखले कारोबार रकम घटेको छ । गत साता ६२ अर्ब ५५ करोड ५९ लाख रहेको कारोबार रकम यो साता ३५ अर्ब ९ करोड ८१ लाखमा सीमित हुन पुगेको छ ।
कारोबार रकम घट्दा बजार पुँजीकरण रकम पनि घटेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम १ खर्ब ३६ अर्ब ७ करोडले बजार पुँजीकरण रकममा कमी आएको छ । गत साता ४६ खर्ब ७९ अर्ब ८८ करोड बजार पुँजीकरण रकम रहेकोमा यो साता ४५ खर्ब ४३ अर्ब ८१ करोड रहेको छ ।
कारोबार रकम, बजार पुँजीकरण रकम सँगै कारोबार कित्ता शेयरको संख्यामा पनि बढेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर ५ करोड २८ लाख ६० हजारले घटेको हो । गत साता १२ करोड ९१ लाख ८२ हजार शेयर कित्ता कारोबार हुदाँ यो साता ७ करोड ६३ लाख २२ हजार शेयर कित्ता कारोबार संख्या पुगेको छ ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २७०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २७३६.४८ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ८१.९५ अंकले घटेको हो । गत साता नेप्से परिसूचक २८१८.४३ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स भने ४५९.०३ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा ११.५७ अंकले घटी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४७०.६ विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचक भने शतप्रतिशतले घटेको छ । गत साताको तुलनामा यो साता बैंकिङ २८, विकास बैंक ५२, वित्त ११४, होटल र पर्यटन १५६ र जलविद्युत १३१ अंकले घटेको हो । साथै सोहि अवधिमा लगानी ५, जीवन बीमा ४००, उत्पादन र प्रशोधन ३३०, लघुवित्त १७४, म्युअुचल फण्ड ०.८२, निर्जीवन बीमा ३२९ व्यपाार १७१ र अन्य समूह ६९ अंकले घटेको हो ।