काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा शुक्रवारबाट सुरु भएको २६ औँ फ्लोरा एक्स्पोमा अवलकोनकर्ताहरूको भीड लागेको छ।
चैत्र १ गतेदेखि सुरु भएको पुष्प मेला चैत्र ४ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन भइरहेको हो।
मेलाका संयोजक एवं फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का उपाध्यक्ष रामबहादुर तामाङले फूलप्रेमीहरूको उपस्थिति धेरै नै राम्रो रहेको र एकैदिन ९ हजार ५ सय जना व्यक्तिहरूले मेलाको अवलोकन गरेको बताए।
मेलामा भीडभाड रहेको र अपेक्षा लिएको भन्दा धेरै आउने कुराले खुशी लागेको बताए। ४ दिनमा ६० हजार भन्दा बढीले अनुगमन गर्ने र एक करोड बढी कारोबार हुने आकलन रहेको बताए। शुक्रबार एकैदिन साढे १७ लाख रुपैयाँको कारोबार भइसकेको बताए।
मेलामा विगतको भन्दा विशेष फूलहरु रहेको बताए। पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरा एक्स्पो गरिएको आयोजकको भनाइ छ। एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरू सहित गरी जम्मा ८२ वटा स्टल रहेको आयोजकले जनाएको छ।