नेप्से सीईओका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’मा, बुधबार अन्तर्वार्ता

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम संक्षिप्त सूचीमा परेको छ । नेप्सेको सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि गत फागुन १२ गतेदेखि १८ गतेसम्म आवेदनका लागि सूचना आह्वान भएकोमा १० जनाको आवेदन परेको छ ।

अर्थ मन्त्रालयअन्तर्गत नेप्सेको सीईओ पदमा नियुक्तिका लागि गठित समितिका अनुसार चुडामणी चापागाई, नारद कुमार लुइंटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम संक्षिप्त सूचीमा परेको हो ।

छनोट समितिले शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनका आधारमा उक्त सूची तयार गरेको हो ।

संक्षिप्त सूचीमा परेकालाई अर्थले आगामी बुधबार अन्तर्वार्ताका लागि बोलाएको छ । सिफारिस समितिले एक सूचना जारी गर्दै व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आफ्नो नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको पुष्टि गर्ने सक्कल कागज प्रमाणहरू लिई उपस्थित हुन अनुरोध गरेको छ । अन्तर्वार्ता अर्थ मन्त्रालयमा बिहान ७ बजेदेखि शुरु हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार