काठमाडौं। एमाले सांसद रघुजी पन्तले संसद्को विशेष समयमा राजाहरूको काण्ड सुनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले उठेर विरोध जनाएका छन् ।
आफ्नै वंशको बहादुर शाहलाई मारेको, रणबहादुर शाहले उपद्रो मच्चाएको, राजेन्द्र विक्रम शाहको पालामा कोतपर्व गरेको घटना उनले सुनाएका थिए ।
यस्तै, त्रैलोक्य विक्रमलाई युवराज छँदा विष खुवाइएको उनले उल्लेख गरे । यस्तै उनले राजा त्रिभुवनले दिल्लीको क्लबमा रसरङ्ग मच्चाएपछि नेहरुले विरोध गरेकोसमेत उल्लेख गरे । यसपछि ज्ञानबहादुर शाहीले विरोध जनाएका हुन् ।
पन्तले बोलिरहँदा शाहीले संसद्मा जे पायो त्यही बोल्न पाइन्छ भनेर प्रश्न गरेका थिए । त्यसको प्रत्युत्तरमा पन्तले भने, ‘जुम्लामा हाहाहाहु गरेर आएको जस्तो होइन । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने,’ उनले भने । उनले राजतन्त्र पुन फर्किने सम्भावना नरहेको बताए । उनले भने, ‘आमाको पेटबाट झरिसकेको बच्चा फेरि पेटमा जानसक्ने अवस्था रहन्छ ।’ तसर्थ राजा र राजतन्त्र फर्किने सम्भावना रहदै नरहेको बताए ।
राजाको सेवामा तल्लीनहरूलाई गणतन्त्रमा जनताका छोराछोरी राष्ट्रपति बनेको कुरा नपचेको उनले उल्लेख गरे ।
सांसद्वयबीच नोकझोक भएपछि अभिव्यक्ति दिँदा सत्य, तथ्य र तर्कमा बोल्न सांसदको ध्यानाकर्षण गराएका छन् । कसैलाई अरूले राखेको तर्कमा विमति भएमा विधिवत् ढंगबाट खण्डन गर्न ध्यानाकर्षण गराएका छन् ।
सांसद पन्तले पर्फामेन्स दिन नसक्ने मन्त्रीहरूलाई सरकारमा राखिराख्न आवश्यक नरहेको बताएका छन् । सांसद पन्तले मन्त्रीहरूलाई सरकारमा राखिराख्न आवश्यक नरहेको बारेमा प्रधानमन्त्रीले ध्यान दिइरहनु भएको होला भन्ने धारणा व्यक्त गरे ।