काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको लाभ लिएको अभियोगमा सर्लाहीको बरहथवा नगरपालिकास्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार बुढाथोकीले रौतहटको महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुरमा निम्न माध्यमिक शिक्षक तृतीय पदका लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा जारी भएको प्रवीणता प्रमाण-पत्र तहको लब्धाङ्क पत्र नक्कली पेस गरेका थिए।
अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएपछि आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ र हालको भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार बुढाथोकीले नक्कली प्रमाणपत्रको आधारमा शिक्षक पद प्राप्त गरी सरकारी सेवा सुविधा लिएको पाइएको छ। अख्तियारले बुढाथोकीविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।