फ्लोरा एक्स्पोमा दुई दिनमा ५८ लाखको कारोबार

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी २६ औँ फ्लोरा एक्स्पोमा दुई दिनमा ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । शुक्रबारबाट जारी एक्स्पोको दोस्रो दिन शनिबारसम्म सो कारोबार भएको हो ।

यस्तै, एक्स्पोमा ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् । सोमबारसम्म चल्ने सो एक्स्पोलाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको सो मेलालाई बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले शुक्रबार अवलोकन गरी उद्घाटन गरेका थिए । अवलोकनपछि पुष्प व्यवसायीसँग कुरा गर्दै उनले आफूले स्मार्ट फार्मिङको लागि बजेट विनियोजन गर्ने र सोको लागि ठोस प्रस्ताव पेश गर्न अनुरोध गरेका थिए ।

पुष्प व्यवसायले नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै उनले पुष्प व्यवसायीलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिए । उनले पुष्प क्षेत्रमा चुनौती रहेको तर अवसरहरू पनि धेरै रहेका हुनाले यो क्षेत्रलाई चाँडै नै आत्मनिर्भर बनाउन सकिने बताए । मेलामा व्यावसायिक ६७, ल्यान्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुई र फुडस्टल तीन वटासहित जम्मा ८३ वटा स्टल रहेको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङ (सुनिल)ले बताए ।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । यस्तै, जेष्ठ नागरिकहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नेपालमा विसं २०११ सालमा सामान्यस्तरबाट पुष्प व्यवसायको सुरु भएको इतिहास रहेको छ । यसपछि पुष्प व्यवसायले विस्तारै गति लिएको र विसं २०४९ साल ताकासम्म लगभग सीमित संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरू रहेको थियो । २०४९ सालमा संस्थागतरूपमा फ्लोरिकल्चर एसोसिएसन नेपालको स्थापनापछि भने यसको व्यावसायिक विकास, विस्तार र प्रवद्र्धनले गति लिएको जनाइएको छ ।

हाल नेपालमा ५२ जिल्लामा दुई सय ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ भने एक हजार दुई सयको हाराहारीमा पुष्प व्यवसायीहरू छन् । यस क्षेत्रमा आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी रहेको छ भने प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा गरी ५१ हजार पाँच सयभन्दा बढी जनशक्तिहरूले रोजगारी पाएका छन् । पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार तीन अर्ब ६८ करोड रुपैयाँभन्दा बढी रहेको व्यवसायीहरूले बताएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार