काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चैत २१ गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालन समितिको १५७ औं बैठकले चैत २१ गते बिहीबार बिहान ११ बजे कालिकास्थान, काठमाडौंमा वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।
कम्पनीले आगामी साधारण सभामार्फत् नगद लाभांश र बोनश शेयर वितरण गर्ने तयारी समेत गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्बको ०.३९४७ प्रतिशतका दरले हुने आउने ७८ लाख ९४ हजार ७३७ रुपैयाँ नगद लाभांश वितरण (प्रस्तावित लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने जनाएको छ । कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्बको ७.५ प्रतिशतका दरले हुने आउने १५ करोड बराबरको बोनश शेयर सभामार्फत् पारित गर्ने तयारी गरेको हो ।
बोनश शेयर जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएबाट सोहि अनुरुप प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तयारी समेत गरेको छ । साथै छैठौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने र हकप्रद शेयर पारित गर्दा भिन्न अंकमा आउने संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखी नजिकको पुरा अंक कायम गर्ने बताइएको छ ।
साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत ८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।