ललितपुर । प्रीमियर इन्टरनेशनल आईबी कोन्टिनम स्कूलद्वारा ‘तातो खाना’ अभियान पुनः सञ्चालन गरिएको छ। तातो खानाको महत्त्व उजागर गर्दै समुदायमा सहयोग, जिम्मेवारी र सहअस्तित्वको भावना फैलाउने उद्देश्यले पुनः सुरु गरिएको यो कार्यक्रम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु, शिक्षा मन्त्रालयका उच्च अधिकारीहरू तथा विद्यालयका विद्यार्थी, अभिभावक र कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भयो। सहभागीहरूले यस अभियानलाई सहयोग गर्नुका साथै यसको सन्देश समुदायमा फैलाउने प्रतिबद्धता जनाए।
‘तातो खाना’ अभियान पहिलो पटक समुदायमा तातो खानाको महत्त्व बुझाउने र आपसी सहयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको थियो। तर कोभिड-१९ महामारीका कारण यो कार्यक्रम रोकिएको थियो। महामारीपछिको पुनः शुभारम्भले तातो खानाको महत्त्व केवल पोषणमा मात्र सीमित छैन, सम्मान, हेरचाह र सामुदायिक ऐक्यबद्धताको प्रतीक हो भन्ने कुरालाई पुनः स्थापित गर्न खोजेको छ।
यस अभियानलाई सामान्य निःशुल्क खाना वितरण कार्यक्रमभन्दा फरक बनाइएको छ। “मुफ्त पाइने चीजको मूल्य बुझिंदैन” भन्ने सोचलाई ध्यानमा राख्दै हरेक भोजनका लागि मात्र रु. १० शुल्क तोकिएको छ, जसले खानाको महत्त्व र सम्मान गर्ने बानी प्रवर्द्धन गर्दछ। साथै, जोसुकैले अरूको लागि खाना उपलब्ध गराउन योगदान गर्न सक्ने व्यवस्था गरिएको छ, जसले साझेदारी, सहयोग र परोपकारको संस्कृतिलाई बलियो बनाउने लक्ष्य राख्छ।
कार्यक्रममा प्रीमियर इन्टरनेशनल आईबी कोन्टिनम स्कूलका निर्देशक पवित्र लिम्बुले पनि अभियानको सारमा प्रकाश पार्दै भनिन्, “तातो खाना केवल पेट भर्नको लागि होइन; यो माया, सम्मान र समुदायको चिनो हो। ‘तातो खाना’ अभियान सानो तर गहिरो अर्थ राख्ने प्रयास हो, जसले हामीलाई हामीसँग भएको कुरा बाँड्न र सहयोगको भावनामा उभिन स्मरण गराउँछ।“
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ले अभियानप्रति ऐक्यबद्धता जनाउँदै ललितपुर महानगरपालिकाबाट पूर्ण सहयोगरहने आश्वासन दिए।उनलेभने, “‘तातो खाना’ जस्ता सामाजिक अभियानहरूले समाजमा सकारात्मक प्रभाव पार्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्छन्। महानगरपालिकाको तर्फबाट यस अभियानलाई पूर्ण सहयोग रहनेछ, र हामी चाहन्छौं कि यो अभियान दीर्घकालीन रूपमा अझ ठूलो स्तरमा अघि बढोस्।“
कार्यक्रममा सहभागी समुदायका सदस्यहरूले स्रोत साधनहरूको सम्मान, सचेत उपभोग र परोपकारी भावना विकास गर्ने विषयमा छलफल गरे। तातो खाना अभियान हरेक आइतबार बिहान १०:०० देखि १२:०० बजेसम्म, जावलाखेल पार्कमा सञ्चालन हुनेछ। जसमा जो कोही सहभागी हुन सक्छन्—खाना किन्न, अरूका लागि योगदान गर्न वा समुदायमा सद्भाव, दयालुता र साझेदारीको यो सन्देश फैलाउन।