काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सिचुवान एयरलाइन्सले व्यावसायिक उडान भरेको छ। चीनको छेन्दुबाट उडेको उक्त विमानले १२८ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको थियो। विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार सोही विमानले करिब १२ बजेतिर १२६ यात्रु लिएर पुनः छेन्दु प्रस्थान गरेको छ।
सिचुवान एयरलाइन्सले आगामी १२ चैतमा अर्को चार्टर उडान गर्ने तय गरेको छ। त्यसपछि, नियमित तालिका अनुसार उडान सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले यसबारे आवश्यक जानकारी प्राप्त गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई औपचारिक रूपमा सञ्चालनमा आएको दुई वर्ष पुगिसक्दा पनि नियमित उडान भने सञ्चालन हुन सकेको थिएन। अब भने, सिचुवान एयरलाइन्सले चार्टर उडानपछि नियमित तालिका प्रस्तुत गर्ने योजना बनाएको छ। साथै, हिमालय एयरलाइन्सले पनि १८ चैतबाट साताको एकपटक उडान गर्ने तयारी गरिरहेको छ।
नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा चीनको छेन्दुबाट पोखराका लागि नियमित चार्टर उडान गरिएको हो। सिचुआन प्रान्तको सहयोगमा सिचुवान एयरलाइन्सले मंगलबार पहिलो व्यवसायिक चार्टर उडान सम्पन्न गरेको छ।
यस उडानमार्फत नेपाली प्रतिनिधिमण्डल ‘पोखरा-छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ कार्यक्रमका लागि छेन्दु प्रस्थान गरेको छ। नेपाली प्रतिनिधिमण्डलले छेन्दु, लुझाउ, लेसान लगायतका चिनियाँ शहरहरूमा सरकारी तथा निजी क्षेत्रका विभिन्न प्रतिनिधिमण्डलसँग व्यवसायिक बैठकहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
यो उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई अझ आशाजनक बनाउने र नेपाल(चीन हवाई सम्बन्धलाई सशक्त बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।