काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै र युरोपियन युनियनको एसीएसआईआईएस कार्यक्रमको सहयोगमा तीन दिने तालिम सञ्चालन गरेको छ । ।
सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू-ऊर्जा, कृषि व्यवसाय, र एसएमई (सानो तथा मध्यम उद्यम) क्षेत्र-मा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो । नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले, तालिमले बैंकिङ तथा व्यवसायमा ईएसजी (पर्यावरणीय, सामाजिक, र सुशासन) अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउँछ । आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि ल्ःद्य बैंकका व्यवसायिक टोली, ईएण्डएस तथा जोखिम अधिकृतहरू, तथा ग्राहकहरू गरी ९० जना सहभागी भए ।
उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ईएसडीडी), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गर्यो। यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।