काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सञ्चालन गरेको छ । ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बुधबारदेखि बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु भएको हो ।
चैत २० गतेसम्म चल्ने तालिमको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनियाँ दूतावासका कन्सुलर ची वाङले संयुक्तरूपमा शुभारम्भ गरेका थिए । तालिममा नगरपालिका विभिन्न वडाबाट छानिएका २२ जना प्रशिक्षार्थीहरू रहेका छन् । वडा नम्बर ४ मा बसोबास गर्ने पहरी र नगरकोटी समुदायका व्यक्तिहरूलाई तालिममा बढी सहभागी गराइएको छ । विशेषगरी पहरी र नगरकोटी समुदायका व्यक्तिहरू बाँसका सामाग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूको थप सीप विकास गर्न र व्यावसायिक बनाउनका लागि तालिमको आयोजना गरिएको हो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकासले यस क्षेत्रका जनताको आम्दानीमा वृद्धि गर्न सहयोग पुग्ने बताए । यहाँका पहरी र नगरकोटी समुदायका व्यक्तिहरूको आम्दानीको स्रोत नै बाँस भएको उल्लेख गर्दै उनले अझ राम्रो सामग्री उत्पादनमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । आयोजक संस्था सोसल डेभलपमेन्ट भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले गोदावरीमा बाँसका सामग्रीबाट जीवन गुजारा गरिरहेका व्यक्तिहरूलाई व्यावसायिक बनाउनका लागि तालिम सञ्चालन गरिएको बताए ।
यस्तै, गुडविल फाउन्डेसन तिब्बतका अध्यक्षमा जेजियानले तालिममा बाँसको चोयाबाट विभिन्न सामग्रीहरू निर्माण गर्न सिकाइने बताए । यसबाट नेपाल र चीनका बीचमा सीप आदान–प्रदान पनि हुने उनको भनाइ छ । आफूहरू प्लास्टिकको विकल्पका रूपमा बाँसको अवधारणालाई प्रवद्र्धन गर्दै हरित विकासलाई प्रोत्साहित गर्न लागेको उनले बताए । गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष राजन महर्जनले सन् २०१५ मा चीनले बाँसबाट गरेको समृद्धि देख्ने अवसर पाएको स्मरण गर्दै यो कार्यक्रम नेपाल र चीनबीच जनस्तर र सांस्कृतिक सम्बन्ध बढाउन कोशेढुंगा हुने बताए । त्यस्तै, वडा नम्बर ४ का वडाध्यक्ष सानुभाइ नगरकोटीले जीविकोपार्जनका लागि मात्र नभई उद्यमी र व्यापारी बन्नेगरी बाँसको सामग्री बनाउने गरी लाग्नुपर्ने बताए ।
बाँसका सामग्री र फर्निचरमा ख्याति कमाएको चीनको सिचुआन प्रान्तस्थित मेइसान सहरका उद्योगी एवं वरिष्ठ कालीगढ लि यिनहाई र सुआई यानपिङले प्रशिक्षार्थीहरूलाई लालटिनलगायत बाँसको चोयाबाट बन्ने सामग्री तयार पार्न सिकाउनेछन् । नेपालमा ६३ हजार हेक्टर जमिनमा ५० भन्दा बढी प्रजातिका बाँस पाइन्छन् । बाँसको व्यावसायीकरणका लागि नेपालमा पनि विभिन्न प्रयासहरू सुरु भएका छन् । गत फागुन १५ गतेदेखि १७ गतेसम्म खोटाङको दिक्तेलमा पहिलो राष्ट्रिय बाँस सम्मेलन समेत सम्पन्न भइसकेको छ ।
सोसल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा सुरु भएको तालिमलाई चीनको सिजाङ ९तिब्बत०मा मुख्यालय रहेको गुडविल फाउन्डेसन र काठमाडौंमा रहेको नेपाल–चाइना कैलाश कल्चर प्रमोसन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन् । स्थानीय साझेदारको रूपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ रहेका छन् । साथै, ग्रिन ब्याम्बो क्रियसनले तालिम सञ्चालनका लागि प्राविधिक सहयोग गरेको छ ।