CLI

विदेशमा रहेका नेपालीलाई निराश नहुन मन्त्री दाहालको आग्रह

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रवास तथा विदेशमा रहेका नेपालीहरूलाई निराश नहुन आग्रह गरेका ।

अमेरिकाको टेक्सासमा रहेका नेपालीहरूको संस्था नेपाली समाज टेक्ससले गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई संशोधनका क्रममा उनले नेपालमा केहि भएन भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यस्तो गलत प्रचारबाट निराश नहुन आग्रह गरेका छन् ।

पछिल्लो समय पूर्वराजावादीहरुले लोकतान्त्रिक व्यवस्थालाई जिस्क्याउने दुष्प्रयास गरिरहेको भन्दै गणतन्त्र र लोकतन्त्रलेनै नेपालमा सामाजिक तथा भौतिक विकासको गति दिएको उल्लेख गरे ।

गणतन्त्रले नै नेपालका सबै क्षेत्र, भूगोल, वर्ग, जातजातिका नागरिकको अधिकारको प्रत्याभूत गरेको, राज्य व्यवस्थामा पहुँच स्थापित गरी रहेको, स्वास्थ्य–शिक्षा जस्ता आधारभूत क्षेत्रमा सेवा विस्तार भई रहेको र भौतिक पूर्वाधारको विकासले समेत तीव्रता पाई रहेको अवस्थामा देशमा केहि भएन भनेर भ्रम छर्नु कुनै पनि नेपाली र विश्वगतले नपत्याउने कुरा भएको उनको भनाई थियो ।

अमेरिकाको टेक्सस राज्यमा नेपालीहरूको सङ्ख्या सबैभन्दा बढी भएकोले नेपाल सरकारले कन्सुलेट कार्यालय राख्ने निर्णय गरेको र यतिवेला अमेरिका सरकार समक्ष सो निर्णय जानकारी गराइएको भन्दै मन्त्री दाहालले अमेरिकाले एग्रीमो दिने बित्तिकै कार्यालय राख्ने लगायतका काम हुने जनाए ।

यस्तै गैर आवासीय नेपालीहरूलाई १० वर्षको भिसा दिने निर्णय पनि वर्तमानमा ठिकै रहेको र भविष्यमा नागरिकताको सम्बन्धमा कानुन निर्माण गर्दा उचित निर्णय गरिने उनको भनाई थियो । कार्यक्रममा एनआरएनए टेक्सस, प्रवासी नेपाली मञ्च, नेपाली जन सम्पर्क मञ्च, पानस अमेरिका लगायतले मन्त्री दाहाल मार्फत नेपाल सरकारलाई आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए ।

मन्त्री दाहाल अमेरिका भ्रमणकै क्रममा अमेरिका स्थित नेपालको राजदूतावासमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत सहभागी भएका थिए । सो कार्यक्रममा अमेरिकामा बस्ने नेपालीहरूका समस्या, नेपाल र अमेरिका बिचको सम्बन्ध, नेपालको लागी अमेरिका सँगका व्यापारिक सम्भावनाहरू र दूतावासका आन्तरिक समस्याहरू लगायतका बारेमा छलफल भएको थियो ।

यातायात सम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका जानु भएका मन्त्री दाहाल आज (बिहीबार) स्वदेश फर्कँदै छन् ।

Leave Your Comment

Related News