काठमाडौं । सिरहाको औरही गाउँपालिकामा महायज्ञ आयोजनाका नाममा दलित परिवारको घर भत्काइएको घटनाप्रति प्रतिनिधिसभाका सांसदहरूले बुधबारको बैठकमा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली काङ्ग्रेसका सांसद जीवन परियारले सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ आयोजना गर्ने नाममा दलित परिवारलाई विस्थापित गरिएको घटनाको भर्त्सना गरे ।
‘विभिन्न जातीय विभेदका घटना घटिरहेका छन् । सिरहामा विष्णु महायज्ञ गर्ने नाममा स्थानीयले डोम जातिका व्यक्तिको उठिबास गरिरहेको छ,’ परियारले भने । उनले यस्तो घटनाको घोर भर्त्सना गर्दै पीडित परिवारलाई न्याय दिन सरकारसँग जोडदार माग गरे ।
यस्तै, राष्ट्रिय स्वतन्त्रता पार्टीका सांसद मनीष झा, जनमत पार्टीका सांसद अब्दुल खान तथा सांसदहरू अमरेशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराइली, प्रभु हजारा, शान्ति विक र सुदन किराती लगायतले पनि दलित परिवारमाथि भएको घटना निन्दनीय रहेको बताए ।
आगामी चैत १७ गतेदेखि सुरु हुने विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) परिवारको घर भत्काइएको हो । पीडित परिवार अहिले विस्थापित अवस्थामा छ ।

