काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ भनिएको र ‘शाही निसान’ प्रयोग गरिएकोमा आपत्ति जनाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर प्रयोग गरिएको र शाही निसान प्रयोग गरेको देखियो। शाही निसान ०६५ जेठ १७ गते हटाएर राष्ट्रिय झन्डा राखिएको थियो।’
उनले ‘महाराजधिराज’ शब्द संविधानमा कहीँ पनि उल्लेख नभएकाले सचेत गराउन सरकारलाई आग्रह गरे।
‘श्री ५ महाराजधिराज भनेर राख्ने र शाही निसान राख्नेप्रति घोर आपत्ति छ। सरकारले संविधान त्यस्ता कार्य नगर्न, संविधान नमिच्न सरकारले आग्रह गरोस्,’ उनले भने।

