काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमशक्तिको विदेश पलायन रोक्न आवश्यक चेतनाको अभाव देखिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सांसद भगवती चौधरीको प्रश्नको जवाफ दिँदै उनले ऋण काढेर असुरक्षित आप्रवासन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जाेड दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘खेतीयोग्य जमिन बाँझो छाडेर, ऋण काढेर विदेश जाने प्रवृत्ति उचित होइन । तल्लो बाटोबाट अमेरिका पुगेर निस्कासित भएर फर्किनु समाधान होइन। यसलाई रोक्न चेतनाको स्तर वृद्धि गर्नुपर्छ ।’
उनले विदेश पलायनको प्रवृत्तिमा नकारात्मक सोचको पनि भूमिका रहेको बताए । ‘व्यवस्था परिवर्तन भयो, तर अवस्था परिवर्तन भएन भन्ने हौवा फैलिएर विदेश जाने क्रम बढेको छ। यो सत्य होइन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले स्वदेशमै रोजगारका अवसर सिर्जना गर्दै युवालाई मुलुकमै योगदान दिन प्रेरित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

