CLI

महिला लघुवित्तको वार्षिक साधारणसभाः मर्जर प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा अनमोल क्याटरिङ सर्भिस, शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका अध्यक्ष तारा कुँवरले गरेकी थिइन्।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात तथा नाफा-नोक्सान हिसाब पारित गरेको छ। साथै, नगद प्रवाह विवरणसहितका अनुसूचिहरूमाथि छलफल गर्दै पारित गर्ने निर्णय गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदित गरिएको छ।

सभाले नियमावलीको नियम ३२ (ग) संशोधन गर्ने निर्णय गरेको छ। साथै, अन्य “घ” वर्गका लघुवित्त संस्थाहरूसँग गाभ्ने/गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद प्रक्रियालाई अघि बढाउने उद्देश्यले संस्थाले चल-अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने तथा आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

सभाका दौरान शेयरधनीहरूले उठाएका प्रश्नहरूको जवाफ दिंदै संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले भविष्यमा शेयरधनीहरूलाई उच्च प्रतिफल दिने गरी कम्पनीको सञ्चालन तथा व्यवस्थापन अगाडि बढिरहेको जानकारी दिए।

त्यस्तै, सभालाई सम्बोधन गर्दै माननीय सांसद जुली कुमारी महतोले संस्थाको निरन्तर उन्नति र प्रगतिका लागि शुभकामना व्यक्त गरिन्। प्रमुख अतिथि तुलसी थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्थाबीच सहकार्य गरी संस्थालाई थप सशक्त बनाउन सुझाव दिएकी छिन्।

Leave Your Comment

Related News