काठमाडौं । नेपालमा औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भैरहेको उद्योगीहरुले बताएका छन् । औद्योगिक क्षेत्रमा पटकपटक घोषित–अघोषित लोडसेडिङ दोहोरिएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा लोडसेडिङको असर र समाधानका लागि आग्रह गरेको छ ।
पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना विद्युत कटौती गरिएको र यसले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पुर्याइरहेको महासंघको भनाइ छ ।
‘लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन्। नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याइरहेको छ, जसका कारण उत्पादनमा भारी गिरावट आएको छ,’ महासंघले भनेको छ ।
त्यसैगरी, बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पुर्याइ मर्मत, संभार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेको पनि उद्योगीहरुकाे भनाइ छ । यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना भएको बताउँदै उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह महासंघले गरेको छ ।