काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशन अवसरमा निजी क्षेत्रका धारणा सरकारसमक्ष प्रस्तुत गरिएको छ। यस अवसरमा उद्योगी तथा व्यवसायीहरूको व्यापक सहभागिता रहेको थियो। महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महासंघका संयोजक भगिरथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वर्तमान सरकारले निजी क्षेत्रलाई विशेष महत्व दिएको उल्लेख गरे। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको भन्दै कानुन र कर प्रणालीलाई सुधार गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताए।
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट तयारी भइरहेको जानकारी गराउँदै कर प्रणालीमा सुधार ल्याई निजी क्षेत्रलाई थप अनुकूल बनाइने बताए। साथै, निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिबारे उनले स्पष्ट पारे। उनका अनुसार, विगतको तुलनामा उद्यम तथा व्यवसायको अवस्था क्रमशः सुधारोन्मुख रहेको छ।
कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार कुनै निश्चित घरानाका लागि मात्र नीति निर्माण नगर्ने धारणा राखे। उनले सबै उद्योगी तथा व्यवसायीलाई समान अवसर प्रदान गर्ने नीति लिएको स्पष्ट पार्दै प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। खतिवडाले उद्यम व्यवसाय सञ्चालनमा कुनै पनि डर वा दबाब सिर्जना नगर्ने प्रतिवद्धता जनाउँदै कानुनी सहजीकरणमार्फत व्यवसायिक वातावरण सुधार्न सरकार अग्रसर रहेको बताए।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु तथा घरेलु उद्योगको प्रवर्द्धनलाई सरकारको प्राथमिकतामा रहेको बताए। स्वदेशी उद्योगको विकास र संरक्षणका लागि सरकारी निकायहरूलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न पत्राचार गरिएको जानकारी उनले दिए। भण्डारीले सरकार गठनपूर्व मुलुकको अर्थतन्त्र अत्यन्त कमजोर रहेको तर हालसम्म सुधार हुँदै गएकाले उद्योग व्यवसायसम्बन्धी कानुनहरू संशोधन गरिएको बताए।
महासंघका पूर्वअध्यक्ष तथा सांसद एल।पी। साँवा लिम्बुले निजी क्षेत्रको योगदानलाई सम्मानजनक रूपमा हेरिनुपर्ने बताए। उनले निजी क्षेत्रले करिब ५५ लाख नागरिकलाई रोजगारी दिएको र कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत योगदान गरेको उल्लेख गर्दै सरकार र नीति निर्माणकर्ताहरूले सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा अवसरको अभाव छैन भन्ने तथ्यलाई आत्मसात् गर्नुपर्ने बताए। उनले नीति स्थिरता भएमा लगानीकर्ताको विश्वास बढ्ने उल्लेख गर्दै निर्यातमुखी उद्योगलाई प्राथमिकता दिने सरकारको प्रतिबद्धता आवश्यक रहेको बताए। उनले लगानी प्रवर्द्धन गर्न नकारात्मक धारणा हटाउनु पर्ने सुझाव दिए।
महाधिवेशनकै अवसरमा नेपाल उद्योग व्यवसायी महासंघ गण्डकी प्रदेशद्वारा प्रकाशित नयाँ वर्ष २०८२ को क्यालेन्डर विमोचन गरिएको थियो।