वेयरहाउसिङ्गमा डिजिटल युगः उपायले १ अर्ब २० करोड लागतमा नेपालमा थ्रीपीएल सेवा ल्याउँदै

काठमाडौं । नेपालमा प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी उपायले थर्ड पार्टी लजिस्टिक्स ( थ्रीपीएल) वेयरहाउस सञ्चालन गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उपायले नेपालमा थ्रीपीएल वेयरहाउस निर्माणको औपचारिक घोषणा गरेको हो।

नयाँ वेयरहाउस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १३, नेपाल प्रहरी स्कुल नजिकै, करिब १८ रोपनी (१ लाख वर्गफुट) क्षेत्रफलमा निर्माण गरिनेछ। नेपालमा लजिस्टिक्स क्षेत्रको प्रविधि र पूर्वाधार अभावलाई महसुस गर्दै कम्पनीले अत्याधुनिक वेयरहाउस निर्माणको पहल गरेको हो। यो परियोजनाको निर्माण कार्य २०२५ अप्रिलमा सुरु भई २०२६ को अन्त्यसम्म सम्पन्न हुने लक्ष्य रहेको छ।

आधुनिक वेयरहाउस पूर्वाधार

भारतीय कम्पनी पीआईएल इन्फ्राले वेयरहाउस निर्माणको जिम्मा लिएको छ। १ अर्ब २० करोड रुपैयाँ लागत रहेको यो परियोजनाले फास्ट मुभिङ्ग कनज्युमर गुड्स (एफएमजीसी), फास्ट मुभिङ्ग कनज्युमर ड्युरेबल्स (एफएमसीडी), ई–कमर्स, क्विक–कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा, जुत्ता, सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स तथा अटो पाट्र्सको मौज्दात व्यवस्थापन, भण्डारण र ढुवानी सेवा प्रदान गर्नेछ।

प्रस्तावित वेयरहाउसको ग्राउन्ड कभरेज ४५ हजार वर्गफुट हुनेछ, भने कुल भण्डारण क्षमता १ लाख वर्गफुटभन्दा बढी रहनेछ। अत्याधुनिक पूर्वाधारयुक्त यो वेयरहाउसमा ग्रेड ए प्रि–इन्जिनियर्ड बिल्डिङ (पीईबी) स्टिल संरचना प्रयोग गरिनेछ, जसले भूकम्पीय सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिनेछ। साथै, हाई डेन्सिटी रयाकिङ्ग (एचडीआर) र मल्टी–टियर सिल्भिङ सुविधा हुनेछ। प्रमुख ग्राहकहरूको आवश्यकताअनुसार बिल्ट–टु–सुट (बीटीएस) डिजाइनको सुविधा पनि उपलब्ध गराइनेछ। यो वेयरहाउस भारतको प्रसिद्ध कम्पनी कोरस्केप डिजाइन एलएलपीले डिजाइन गर्नेछ, जसले वातावरणमैत्री प्रविधि, फोहोर व्यवस्थापन, र वर्षा पानी संकलन प्रणालीलाई समेटेर निर्माण गरिनेछ।

नेपालको लजिस्टिक्स क्षेत्रमा सुधारको लक्ष्य

कार्यक्रममा उपायका सह–संस्थापक तथा निर्देशक रञ्जिव श्रेष्ठले नेपालमा आवश्यक पूर्वाधार र व्यवस्थापनको कमीले गर्दा लजिस्टिक्स लागत देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २० प्रतिशत रहेको बताए। उनले भने, “उपाय वेयरहाउजिङ्ग प्रविधिमा आधारित पूर्वाधार कम्पनीका रूपमा अघि बढ्नेछ। हामी अन्य सहरहरूमा पनि यस्ता वेयरहाउसहरू निर्माण गर्दैछौं, जसले दक्षता, प्रविधि, र पूर्वाधार मार्फत लजिस्टिक्स लागत घटाउन योगदान पुर्याउनेछ।”

उपायका सह–संस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझीले थ्रीपीएल वेयरहाउस व्यवसायहरूको लागि पूर्ण लजिस्टिक्स समाधान हुने बताए। उनले भने, “हाम्रो ग्राहकहरूले भण्डारण तथा मौज्दात व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हामीलाई हस्तान्तरण गर्न सक्नेछन्, जसले गर्दा उनीहरू आफ्नो मूल व्यवसायमा केन्द्रित रहन सक्छन्।”

वित्तीय व्यवस्थापन र लगानी

वेयरहाउस निर्माण घोषणासँगै उपायले वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पनि सम्पन्न गरेको छ। परियोजनाका लागि १ अर्ब २० करोड रुपैयाँ संकलन गरिएको छ, जसमा बैंकबाट ८५ करोड, डोल्मा इम्प्याक्ट फण्डबाट २० करोड, र उपायका लगानीकर्ताहरूबाट २० करोड रुपैयाँ संकलन गरिएको छ।

सिटिजन्स बैंकले ५० करोड रुपैयाँ र माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ लगानी गरेको छ। नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले यस्ता नवीन परियोजनाहरूले समृद्धि, विकास, र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “नेपालको आर्थिक सुधार चुनौतीपूर्ण भए पनि, उपायको यस परियोजनाले बैंकहरूलाई लगानी गर्न नयाँ सम्भावनाहरू प्रदान गर्नेछ।”

डोल्मा इम्प्याक्ट फण्डका विशाल विष्टले उपायको परियोजना सफल भएमा अन्य कम्पनीहरूले पनि यस्ता भण्डारण संरचना निर्माण गर्न प्रेरित हुने बताए।

नेपालमा लजिस्टिक्स लागत घटाउने तथा आपूर्ति श्रृंखला व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ अघि बढेको उपायको थ्रीपीएल वेयरहाउसले लजिस्टिक्स क्षेत्रमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार