काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा जीवन बीमा कम्पनीहरूले १ खर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको साउन देखि फागुनसम्म १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख ६६ हजार बीमा शुल्क संकलन गरेको छ।
समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले १ करोड ३४ लाख ४६ हजार ७९२ वटा बीमा लेख मार्फत उक्त बीमा शुल्क आर्जन गरेका हुन् । गत आर्थिक वर्षको तुलनमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन १०.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख बीमा शुल्क संकलन गरेका थिए ।
समिक्षा अवधिमा प्रथम बीमा शुल्क २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ रहेको छ भने वैदेशिक रोजगार बीमाशुल्क१ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार आठ महिनाको अवधिमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीले संकलन गरेको छ । नेपाल लाइफले २९ अर्ब ३९ करोड ८९ लाख, नेशनलले १३ अर्ब ६२ करोड ८४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ५६ करोड ५ लाख, हिमालयनले ११ अर्ब २२ करोड २७ लाख बीमा शुल्क आर्जन गरेको छ ।
समिक्षा अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ६९ करोड ५० लाख, एशियन लाइफले ५ अर्ब ६९ करोड ८२ लाख, सिटिजन्स लाइफले ४ अर्ब ४९ करोड , राष्ट्रिय जीवन बीमाले ४ अर्ब ४७ करोड ९३ लाख, सानिमा रिलायन्स लाइपफल ४ अर्ब २९ करोड २६ लाख, मेट लाइफले ३ अर्ब ८८ करोड ९ लाख बीमा शुल्क आर्जन गरेको छ ।
आठ महिनाको अवधिमा आएमइ लाइफले ३ अर्ब २८ करोड ७८ लाख, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड ७६ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड ५९ लाख र सन नेपाल लाइफले २ अर्ब ७० करोड २९ लाख बीमा शुल्क आर्जन गरेको छ ।
https://nia.gov.np/Admin/images/InsurerStatistics/Files/67e1294b38122_1742809419.pdf