CLI

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी वीक २०२५ सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२५ सम्पन्न गरेको छ । महालक्ष्मी विकास बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरूलाई समेट्ने उद्देश्यले चैत ४ गतेदेखि चैत १० गतेसम्म साताव्यापी रूपमा ग्लोबल मनी वीक २०२५ सम्पन्न गरेको हो ।

बैंकले देशभर रहेका सातवटै प्रदेशका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ।

यस अभियान अन्तर्गत बैंकका गंगबु, धनगढी, चन्द्रनिगाहपुर, दमौली, इटहरी, जनकपुर, वीरगञ्ज, दमक, टिकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा तथा केन्द्रीय कार्यालय लगायतका विभिन्न शाखाहरूले विद्यार्थी तथा युवाहरूलाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेका थिए। प्रभातफेरी तथा सचेतनामूलक गतिविधिहरू मार्फत बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी तथा वित्तीय अनुशासन जस्ता महत्वपूर्ण विषयमा जानकारी प्रदान गरिएको थियो।

देशभर आयोजित कार्यक्रमहरूमा १२०० भन्दा बढी सहभागिता रहेको बैंकले जनाएको छ। साथै, बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत सचेतनामूलक सामग्रीहरू पोस्ट गर्नुका साथै वित्तीय शिक्षासम्बन्धी भिडियोहरू प्रसारण गरेको छ। यस पहलले किशोर(किशोरी तथा युवा पुस्तामा वित्तीय शिक्षाको महत्त्वबारे जागरूकता ल्याउने विश्वास बैंकले लिएको छ।

त्यस्तै, बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने आफ्नो नीतिअनुसार मोबाइल एप्लिकेसन परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ।

Leave Your Comment

Related News