CLI

डा. विराजसिंह थापा ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ द्वारा सम्मानित

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन्।

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा विशेष योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई सम्मान गर्ने घोषणा गरेको थियो। सोहीअनुसार, डा. थापालाई शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार प्रदान गरे।

डा. थापा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका सहप्राध्यापक हुन्। उनले हाइड्रोजन प्रविधिमा विशेष दक्षता हासिल गरेका छन्। उनको नेतृत्वमा नेपालमा पहिलो हाइड्रोजन कार निर्माण गरिएको थियो। साथै, उनी नेपाल सरकारको ग्रीन हाइड्रोजन नीति समन्वय समितिका सदस्यसमेत रहेका छन्।

पुरस्कार प्राप्त गरेपछि डा. थापाले यस सम्मानले आफूलाई अझ प्रेरित गरेको प्रतिक्रिया दिएका छन्। उनले भने, “यो पुरस्कार नेपालमा हरित हाइड्रोजन इकोसिस्टम विकास गर्ने मेरो दृष्टिकोण, समर्पण र उपलब्धिहरूको मान्यता स्वरूप प्रदान गरिएको हो। यस बिन्दुमा आइपुग्न प्रेरणा, मार्गदर्शन र समर्थन गर्ने सबैप्रति म अत्यन्तै आभारी छु।”

नेपालमा हरित उर्जाको सम्भावनालाई अघि बढाउने कार्यमा उनको योगदान उच्च मूल्यांकन गरिएको छ।

Leave Your Comment

Related News