काठमाडौं टेक्निकल स्कुलको उद्घाटन: दक्ष जनशक्ति उत्पादनमा नयाँ कदम

काठमाडौं । जगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्ने उद्देश्यले आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त सहकार्यमा काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा आएको छ। मंगलबार काठमाडौँको धुम्बाराहीस्थित स्कुल परिसरमा आयोजित विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले यसको औपचारिक शुभारम्भ गरे।

यस स्कुलले हस्पिटालिटी, कुलिनरी आर्ट्स, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङ लगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक तालिम सञ्चालन गर्नेछ। आगामी एक दशकभित्र १ लाखभन्दा बढी कुशल जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ।

आइएमई ग्रुपले अढाइ दशकको व्यावसायिक यात्रामा बैंकिङ, बीमा, पर्यटन, जलविद्युत्, म्यानुफ्याक्चरिङ लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय उपस्थिति जनाइसकेको छ। समूहका कम्पनीहरूमा हाल २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने हजारौँलाई स्वरोजगार बनाउन सहयोग पुर्‍याएको छ।

आईएक्सआई कर्पले वैकल्पिक लगानी, ऊर्जा, शिक्षा, प्रविधि तथा सार्वजनिक नीतिका क्षेत्रमा काम गर्दै आएको छ। दुवै संस्थाको सहकार्यमा स्थापना गरिएको काठमाडौं टेक्निकल स्कुलले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्न सकिने भएकाले सरकारले निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राखेको बताए। उनका अनुसार, प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा पर्दछ, र यस अभियानमा निजी क्षेत्रलाई साथ दिन सरकार तयार रहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौं टेक्निकल स्कुलको स्थापना नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको नयाँ युगको शुरुवात भएको संकेत भएको बताए। उनले हजारौँ युवालाई रोजगार तथा स्वरोजगार बनाउन स्कुलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।

“आगामी एक दशकमा १ लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको छ। यसका लागि तीन दर्जनभन्दा बढी तालिम कार्यक्रम सञ्चालन गरिनेछ,” उनले बताए। साथै, सरकारले प्राविधिक स्कुल तथा तालिम केन्द्रहरूको स्थापना र प्रवर्द्धनमा थप सहयोग गर्नुपर्ने उनको धारणा छ।

अध्यक्ष ढकालका अनुसार, अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती बेरोजगारी र युवा शक्तिको पलायन हो। “यदि युवासँग आवश्यक सीप भएमा स्वदेशमै राम्रो रोजगारी पाउन सक्छन्। विदेश गए पनि उच्च तलबको अवसर प्राप्त गर्न सक्छन्, जसले देशको रेमिट्यान्स आम्दानीमा पनि सकारात्मक प्रभाव पार्नेछ,” उनले भने।

काठमाडौं टेक्निकल स्कुल ९केटीएस० का अध्यक्ष मनोज पौडेलले उद्घाटन गरिएको स्कुलले सरकारको ‘एक लाख दक्ष जनशक्ति उत्पादन’ लक्ष्य प्राप्त गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। उनले केटीएसले युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम तथा शिक्षा प्रदान गरी रोजगार तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखेको बताए ।

स्कुलले नेपालभित्रै अवसरहरू सिर्जना गर्ने मात्र नभई विद्यार्थीहरूलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाउने उद्देश्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्ने नीति लिएको छ।

यस विशेष समारोहमा नेपाल सरकारका प्रतिनिधिहरू, निजी क्षेत्रका उद्यमीहरू, विदेशी कुटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधिहरू लगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार